Thursday, March 28, 2013

गजल

नयाँ दिनले नयाँ कथा बताएर जान्छ
हर्ने मान्छे भन्छ आयु घटाएर जान्छ

खोज्दै गर्नु समयले अनाम ठेगानामा
तिम्रो लागि प्रेमपत्र पठाएर जान्छ

आँशु आँशु भरिएको कुनै आँखाभित्र
कसरि त्यो आसाको घाम अटाएर जान्छ

हातभरी उपहारै उपहार थमाउने
जिन्दगीले यस्तो चिट्ठा कटाएर जान्छ

चन्द्रमाको दाग लाग्छ घामको मुहारमा
तर घामले ग्रहण त्यो हटाएर जान्छ

- कवि भुपिन ब्याकुल (चितवन )

Friday, March 22, 2013

गजल

 एउटा मुस्कानले धावा बोल्छ यसरि
 भोक हराउंछ निद्रा बिथोल्छ यसरि

पर्खाइमा दृस्टी फिँजाउने बानि परेपछि 
नयनले पनि कठै भिड छिचोल्छ यसरि

युद्द मैदानमा होस् चाहे स्वप्न संसारमा 
नजरको तिर गढ़ेपछी योद्धा ढल्छ यसरि 

बन्द खाम भित्र मुटु छापेको धेरै भइसक्यो 
उर्जा छ छैन शब्दहरुमा मन पिरोल्छ यसरि 

प्रेम हो कि आकर्षण बुझ्न कठिन भएपछि

 आफैभित्र भयानक द्वन्द चल्छ यसरि

                                                    ' नवोदित '

Monday, March 11, 2013

गजल

ढुंगाको पनि मन पालाउँछ तिमीलाई देखेपछि
हतियार बोक्नेले कलम चलाउँछ तिमीलाई देखेपछि

हिजोसम्म ऊ इसारामा कुरा गर्थ्यो
खै कसरि बोल्न आउँछ तिमीलाई देखेपछि

शब्दकोष  पनि अब फेरिएर आउनु पर्छ
चन्द्रमाले आँशु बगाउँछ तिमीलाई देखेपछि

मुना मदनको प्रेम पनि पवित्र नरहने भो
आजभोलि मदन टोलाउँछ तिमीलाई देखेपछि

सुन्दरताको माप बोकी हिड्ने चित्रकार
खै त्यसै त्यसै आघाउँछ तिमीलाई देखेपछि

नवोदित